अन्ततः ब्रोकरले पाउने नै भए मार्जिन लेन्डिङ सेवा, धितोपत्र बोर्डले गर्दैछ अन्तिम तयारी

काठमाडौ‌, 2८ असोज : नेपाल धितोपत्र बोर्डले तिहार लगतै ब्रोकरलाई मार्जिन लेन्डिङ सेवा सुरु गर्न दिने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ब्रोकरमार्फत मार्जिन लेन्डिङ सेवा सुरु गर्न दिने काम अन्तिम चरणमा पुगेकोे बताएका छन् । संशोधित धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०७४ ले ब्रोकर व्यवसायीको चुक्ता पुँजी १० गुणासम्म बढाएर कम्तीमा २ करोड रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक अवस्था गरेपछि मार्जिन लेन्डिङ, डिलरसिपको काम र परामर्शदाताको कामसमेत गर्न पाउने गरी कार्यक्षेत्र विस्तार हुनुपर्ने ब्रोकरहरुले माग गर्दै आएका थिए । ब्रोकरहरुको दबावसँगै अहिले बोर्डले पहिलो चरणमा मार्जिन लेन्डिङको सेवा दिन पाउने व्यवस्था गर्न लागेको हो । यसका लागि धितोपत्र बोर्डले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । अध्यक्ष डा. कार्कीले बिहीबार आयोजित एक कार्यक्रममा तिहारलगतै ब्रोकरमार्फत मार्जिन लेन्डिङ सेवा सुरु गर्न अनुमति दिन लागेको जानकारी गराएका थिए । अहिले सरोकारवालाहरुसँग पनि राय लिने काम भइरहेको छ । शुक्रबारमात्रै ब्रोकर एसोसिएसनले पनि बोर्डसँग यो विषयमा छलफल गरेको छ । एउटा गाइडलाइन्स बनाएर अघि बढ्न लागिएको ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले नेपाली पैसालाई बताए ।

यो सेवाले ब्रोकरहरुलाई थप प्रोफेसनल बनाउन मद्दत गर्ने एसोसिएसनका अध्यक्ष रेग्मीको भनाई छ । उनी भन्छन्, ‘मार्जिन लेन्डिङ सेवा सुरु हुनु भनेको ब्रोकरको कार्यक्षेत्र विस्तार हुनु हो । यसले ब्रोकरलाई थप प्रोफेसनल बनाउन मद्दत गर्छ । बजारमा कारोबार भोल्युमलाई बढाउन पनि सहयोग गर्छ ।’ ब्रोकरहरुले यो काम सुरु गरेपछि लगानीकर्ताले सेयर कर्जाको प्रक्रिया ब्रोकरमार्फत अघि बढाउन सक्नेछन् । ब्रोकरहरुले आफ्ना ग्राहक पहिचान, कारोबार र सेयर संख्याका आधारमा बैंकिङ नियम अनुसार मार्जिन कर्जाका लागि सिफारिस गर्न सजिलो हुनेछ । लगानीकर्ताले पनि एकै ठाउँबाट धेरै सेवा पाउन सक्नेछन् । विकसित मुलुकहरुमा पनि मार्जिन लेन्डिङ सेवा ब्रोकरमार्फत नै दिइने गरेको पाइन्छ । लगानीकर्ताको वित्तीय अवस्थाबारे बैंकहरु भन्दा ब्रोकर कम्पनीलाई बढी जानकारी हुने भएकाले ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई कर्जामा जोखिम न्यूनीकरण गर्नसमेत सजिलो हुने कतिपयको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Inline
Inline